लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु विश्वका शान्तिप्रेमीहरूका लागि गौरव : उपाध्यक्ष डा.लामा
बुटवल । बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरेका छन् ।
शुक्रबार लुम्बिनीस्थित कानिङ सेडुव लिङ गुम्बा संगठन तथा लुम्बिनी विकास कोषले गुम्बा निर्माण गरेका हुन् ।
कोषका उपाध्यक्ष डा.लामाले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरूका लागि गौरव भएको बताएका छन् ।
डा.लामाले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताएका छन् ।
बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको बताए । रिन्पोछेले अब गुम्बाको संरक्षण सबैले गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन लगायतको सहभागिता रहेको थियो ।
विहार उद्घाटनअघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पूण्यमङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्वारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनि बुद्धको साधना सोह स्थविरको स्तुति एवं पूजन गरिएको विहारका प्रमुख रिन्पोछे ग्यालजोनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया