मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले मनाङको विकास र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्छ : पूर्वराज्यमन्त्री गुरुङ
काठमाडौं । पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङले मनाङ जिल्लामा चिनियाँ निर्माण कम्पनी र बुटवल पावर कम्पनीको लगानीमा निमार्ण हुने मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सफलताको शुभकामना दिएका छन् ।
शुक्रबार काठमाडौंमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम टुंगो र निमार्ण कार्य शुभारम्भ घोषणा सभालाई सम्बोधन गर्दै गुरुङले विनाअवरोध आयोजना समयमै सम्पन्न हुने विश्वास गरे ।
नेपाली कांग्रेसका सांसद गुरुङले भौगोलिक विकटता, साँघुरो र जोखिमपूर्ण सडकको अवस्था भए पनि जलविद्युत् आयोजनाको निमार्ण कार्य शुरु हुनु मनाङवासीका लागि खुशीको कुरा भएको बताए ।
उनले आयोजना निमार्णसंगै मनाङको पर्यटन, कृषि लगायतको समग्र विकास हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताएका छन् ।
सांसद गुरुङले विगतमा भएको सहमतिअनुसार लमजुङको खुदीदेखि मनाङको कोतोसम्म ५० किलोमिटर सडकस्तर उन्नतिका लागि स्थानीय र नेपाल सरकारसंग सहजीकरणका लागि सहयोग गर्ने बताए ।
वन ऐन, अन्नपूर्ण संरक्षण क्षेत्र ऐन र अन्य कानूनी जटिलतालाई समय सापेक्ष परिमार्जन आवश्यक भएको नेता गुरुङले बताएका छन् । उनले सरकारले आयोजना कार्यान्वयनका समयमा देखिने कठिनाइलाई सहयोग गर्नुपर्ने बताए ।
पूर्वराज्यमन्त्री गुरुङले आयोजनाको निमार्ण र सञ्चालनमा हजरौै स्थानीयवासीलाई सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र स्वास्थ्य सुरक्षासहितको रोजगारीको माग समेत गरेका छन् ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना नेपाल–चीन सम्बन्धको एउटा प्रतीक भएको बताए ।
सोङले परियोजनाले नेपाल–चीन सम्बन्धमा थप टेवा पुग्नुका साथै दुई देशका लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेको बताए ।
आयोजनाका साझेदार बुटवल पावर कम्पनीका प्रमुख पद्म ज्योतिले आयोजनास्थल आसपासका स्थानीयवासीन्दालाई प्रचलित कानूनको अधिनमा रहि शेयर उपलब्ध गराउने योजना रहेको बताए ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, एससीआइजी इन्टरनेशनल लिमिटेड, छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्युवाईसी इन्टरनेशनल लिमिटेडका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आयोजना निमार्णमा बुटवल पावर कम्पनीको २० प्रतिशत र तीन वटा चिनियाँ कम्पनीको ८० प्रतिशत गरी कुल ३२ करोड तीस लाख अमेरिकी डलरको लगानी हुनेछ ।
१३५ मेगावाटको जलविद्युत् आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर उत्पादन गर्न सक्छ । ग्रस हेड ४३०.२० मिटर छ । हेडरेस ६.०७५ किमी निर्माण हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया