बीआरआई परियोजनामा ऋण होइन अनुदान लिनुपर्छ : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सम्वाददाताहरूसँग कुरा गर्दै देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ ।’

देउवाले मधेश प्रदेश सरकारका विषयमा कांग्रेसको निर्णयले मात्रै केही नहुने बताए । ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन’, उनले भने, ‘अरु दलहरूले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’

सभापति देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताए । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको बताएका छन् ।

देउवाले भने, ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ । बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’

सभापति देउवालाई जनकपुर विमानस्थलमा सयौँको संख्यामा उपस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य विमलेन्द्र निधि लगायतको पनि उपस्थिति रहेको थियो

Published : Monday, 2024 November 25, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया