कांग्रेस र एमालेका नेताहरूबीच बीआरआईमा छलफल, गगन-विष्णुसहितका नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा छलफल भएको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच बीआरआईका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । बीआरआई सम्बन्धी कार्यक्रम कार्यान्वयनमा साझा धारणा बनाउन सहमति निकट पुगेको बुझिएको छ ।

एमालेबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री गगन थापालाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ ।

गृहमन्त्री रमेश लेखकले कांग्रेसले प्रस्ताव गरेकै विषयवस्तुमा साझा धारणा बनाउन छलफल जारी रहेको बताएका छन् ।

कांग्रेस र एमालेका नेताहरूको छलफलमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतका नेताहरू सहभागी रहेका थिए ।

बीआरआईका विषयमा कांग्रेसले उठाउँदै आएका सवाललाई सम्बोधन हुने गरी साझा मस्यौदा तयार गरिनेछ । त्यसका लागि प्रधानमन्त्री ओलीले नै सक्रियता देखाएका छन् । प्रधानमन्त्री ओलीले अनौपचारिक तहमा चिनियाँ पक्षसँग समानान्तर छलफल गरिरहेको बुझिएको छ ।

परराष्ट्रमन्त्री डा.राणा शुक्रबार चीन प्रस्थान गर्दै छिन् । शुक्रबार नै छेन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Published : Thursday, 2024 November 28, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया