बीआरआईमा कांग्रेस र एमालेबीच मतभिन्नता छैन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईमा कुनै पनि मतभिन्नता नरहेको बताएकी छिन् ।

बिहीबार चीनको औपचारिक भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरूसँग कुरा गर्दै डा.राणाले मतभिन्नता भनेर मिडियाले क्रिएट गरेको बताइन् । उनले दुई देशबीच गहन छलफलपछि सम्झौताहरू हुने बताएकी छिन् ।

बीआरआईका विषमया निकै ठूलो मतभिन्नता देखिएको थियो कांग्रेस र एमालेबीच अहिले कति साँघुरियो ? भनेर सम्वाददाताहरूले सोधेको जिज्ञासामा परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘त्यस्तो मतभिन्नता मिडियाले क्रिएट गरेको हो । पार्टीमा जति पनि नेताहरू हुनुहुन्छ, सबै एकरुपताका साथ सम्झौतालाई अगाडि बढाउने भनेर लाग्नुभएको छ । टिम छ । कुरा गरिरहनुभएको छ । मतभिन्नता भन्ने अहिलेसम्म छैन ।’

सम्वाददाताहरूले सम्झौता हुन्छ यसपालि ? भनेर सोधिएको प्रश्नको जवाफमा मन्त्री डा.राणाले भनिन्, ‘त्यो नेगोशिएसन हो । जहिले पनि परराष्ट्रका विषयमा कुनै पनि कुरा दुई देशले नै आफ्नो कुराहरू राख्छन् । त्यसमा धेरै वार्ताहरू हुन्छन् ।’

बीआरआईका सम्बन्धमा सम्वाददाताहरूले ‘नेपालको अनुदानमा जोड हो ?’ भनेर सोधिएको जिज्ञासामा परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हो…हो…।’

परराष्ट्रमन्त्री डा.राणाले आफू प्रधानमन्त्री केपी ओलीको औपचारिक भ्रमणको लागि वातावरण बनाउन चीन जान लागेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको भिजिटका लागि वातावरण बनाउन जान लागेको छु ।’

परराष्ट्रमन्त्री डा.राणा मंसिर १५ गते स्वदेश फर्किने कार्यक्रम छ । चीनमा रहँदा मन्त्री डा.राणाले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन् ।

Published : Thursday, 2024 November 28, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया