कीर्तिपुर कहिल्यै पनि लालकिल्ला थिएन : कांग्रेस सहमहामन्त्री उपाध्याय

कीर्तिपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले कीर्तिपुर कहिल्यै पनि लालकिल्ला नरहेको बताएकी छिन् ।

बिहीबार नेपाली कांग्रेसले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यायले विगतमा केही गल्तीका कारण कीर्तिपुर लालकिल्ला बनेको बताइन् । उनले लालकिल्लालाई राजन केसी र राजकुमार नकर्मीले तोडिसकेको बताइन् ।

उनले भनिन्, ‘कीर्तिपुर लोकतन्त्रको बिगुल फेक्ने जमीन हो । कीर्तिपुर नगरपालिका हामीले बिगुल फुकेर लोकतन्त्र ल्याएको ठाउँ हो । हिजाको दिनमा कीर्तिपुरलाई लालकिल्ला भनियो । कीर्तिपुर लालकिल्ला कहिल्यै पनि थिएन । त्यो बेला गल्ती भएको थियो ।’

‘लोकतन्त्रको किल्ला कीर्तिपुरमा हाम्रो राजन केसी, राजकुमार नकर्मीले तोडिसक्नुभएको छ । अब कीर्तिपुर लालकिल्ला बन्न सक्दैन । हामीलाई विश्वास छ’, कांग्रेस सहमहामन्त्री उपाध्यायले भनिन् ।

उनले भनिन्, ‘कृष्णमान डंगोलले कीर्तिपुरलाई स्मार्ट सिटी बनाउछु भन्नुभएको छ । स्वास्थ्य र शिक्षालाई अगाडि बढाउने भन्नुभएको छ । राजन केसीले अथक प्रयास गर्नुभएको छ । कृष्णमान डंगोलले बाँकी काम गर्नु हुन्छ ।’

चुनावी सभालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गरेका थिए । उनीहरूले कीर्तिपुरमा कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका कृष्णमान डंगोललाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

Published : Thursday, 2024 November 28, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया