भारतीय आपराधिक समूह लरेन्स बिश्नोइसँग दुर्गा प्रसाईंको कनेक्सन, सीआईबीद्वारा सदस्य पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय आपराधिक समूहका नाईके लरेन्स बिश्नोइको सदस्य दाबी गर्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुयाललाई पक्राउ गरेको छ ।
फयाललाई ब्यूरोको टोलीले बिहीबार बेलुका झापाको मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीबाट पक्राउ गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका फुयालको स्थायी ठेगाना पाँचथरको मौवामा रहेको खुलेको छ । उनी झापाको चारआलीमा बस्दै आएका थिए ।
फुयाल र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सम्बन्ध रहेको ब्यूरोले जनाएको छ । फुयालले आफू लरेन्स बिश्नोइको सदस्य हुँदै भन्दै विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोन गरेर धम्काउनुका साथै दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान लिने धम्की दिने गरेको ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ ।
‘हरिचन्द्र फुयाललाई पक्राउ गरेर ल्याई प्रारम्भीक अनुसन्धान गर्दा निज पक्राउ प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा गरेको साथै हरिचन्द्र फुयाल यसभन्दा अगाडि समेत विभिन्न कसूरमा संलग्न भई फरार रहेको खुल्न आएको छ’, ब्यूरोको विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोले भनेको छ, ‘हरिचन्द्र फुयालले नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोनकल तथा म्यासेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरू आतंकित पारी आपराधिक लाभ लिन खोज्ने व्यक्ति भएको खुल्न आएको छ ।’
फुयालको साथबाट ब्यूरोले भिभो कम्पनको मोबाइ र रेडमीको मोबाइल पनि बरामद गरेको छ । फुयालमाथि ब्यूरोले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई पनि प्रहरीले कीर्ते प्रकरण र चरित्रहत्या गरेको अभियोगमा पक्राउ गरेर हिरासतमा राखेको छ । प्रसाईंले अराजक र उत्तेजित अभिव्यक्ति दिएर समाजलाई भाँड्ने हर्कत गरिरहेका बेला प्रसाईंको सम्बन्ध भारतीय आपराधिक समूहका नाईके लरेन्स बिश्नोइको समूहसँग समेत सम्बन्ध रहेको पक्राउ परेका फुयालको प्रारम्भीक बयानबाट देखिएको छ ।
बलिउड अभिनेता सलमान खानलाई गोली हानेर हत्या गर्ने अभिव्यक्ति दिनुका साथै ज्यानमार्ने कार्यहरूमा संलग्न रहेको भन्दै भारतीय प्रहरीले लरेन्स बिश्नोइलाई पक्राउ गरेर जेलमा राखेको छ । यता नेपालमा पनि लरेन्स बिश्नोइको आपराधिक समूहको सदस्य हुँ भनेर धम्काउने लगायतका अपराध हुन थालेको बेला सीआईबीले कडा कदम उठाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया