कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ : नैनसिंह महर
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस संसदको सबैभन्दा ठूलो दल रहेको भन्दै कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी रहेको बताए ।
शुक्रबार इलाममा पार्टीको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा नेता महरले पार्टीभित्रका आन्तरिक विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको १०० दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको बताए ।
उपनिर्वाचनको परिणामले १०० दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताएका छन् ।
उनले भने, ‘कांग्रेस बाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए । हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्न मै बित्यो ।’
‘नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ’, नेता महरले भने, ‘हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं ।’
उनले भने, ‘अब कांग्रेसले जित्नुको विकल्प छैन । राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभिष्ट पूरा गर्न केन्द्रित हुनुपर्छ । हुन्छ ।’
पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ ।
सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । ‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो’, उनले भने, ‘सहमति अनुरूप कति काम भए–भएनन् ? बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अगाडि बढ्नुपर्छ । सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया