प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट, दोस्रो तहका नेताहरू पनि सहभागी
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्वाद भएको छ ।
शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओली र देउवाबीच बीआरआईका विषयमा छलफल भएको हो । कार्यदलले बीआरआई सहकार्य फ्रेमवर्कको मस्यौदा सहमतिमा बनाएपछि प्रधानमन्त्री ओली र सभापति देउवाले कार्यदललाई धन्यवाद पनि दिएका छन् ।
ओली र देउवाले दस्तावेजको मस्यौदा सहमतिमा तयार पार्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको कार्यदलका सदस्यहरूलाई धन्यवाद दिएका हुन् ।
कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल रहेका थिए ।
कार्यदलले बनाएकै दस्तावेजलाई नेपाल सरकारले चीन सरकारलाई पठाइसकेको छ । प्रधानमन्त्री ओलीको सोमबारबाट हुने चीन भ्रमणमा मस्यौदाको दस्तावेजमा हस्ताक्षर हुने सम्भावना छ ।
ओली र देउवाले बोलाएको धन्यवाद ज्ञापन बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी रहेका थिए भने कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला सहभागी रहेको एक नेताले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया