कम्युनिस्ट राष्ट्रपतिले जनतालाई घुँडा टेकाएको तस्बिर भाइरल

काठमाडौं । दशैँको टीका प्रदान गर्ने क्रममा कम्युनिस्ट राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको भेदभावको आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीको जमेर आलोचना भएको छ ।

सामाजिक सञ्जालमा व्याकुल पाठकले लेखेका छन्, ‘एउटा सानो स्टुलको व्यवस्था गरिएको भए सार्वभौमसत्ता सम्पन्न जनता जनार्दन’ले यसरी घुँडा टेक्नु पर्दैन थियो कि !’
उनले अगाडि लेखेका छन्, ‘आखिर राष्ट्रपति महोदयालाई थाहा नभएको त होइन रैछ नि, प्रधानमन्त्री तथा उपराष्ट्रपतिका लागि चाहिँ राम्रो कुर्सीकै जोहो गरिएको रहेछ ! नेपाली नागरिक बने भन्नु त भ्रम मात्र रहेछ । जनताबाट नागरिक बन्नु त कता हो कता अझै ‘प्रजा’ युग नै समाप्त भइसकेको रहेनछ !’

व्याकुल पाठकले सामाजिक सञ्जालमा पोस्ट गरेको राष्ट्रपति भण्डारीले एक व्यक्तिलाई घुँडा टेकाएर लगाइदिएको तस्बिर र स्टाटस धमाधम सेयर भएका छन् । पाठकले राखेको त्यो तस्बिरलाई पूर्वशिक्षक एवम् राजनीतिक विश्लेषक केशवप्रसाद भट्टराईले पनि सेयर गरेका छन् ।

पत्रकार वीरेन्द्र केएम, कांग्रेस नेतृ मृदुला कोइलासासहितकाले पनि राष्ट्रपति भण्डारीले एकजना व्यक्तिलाई घुँडा टेकाएर आफू कुर्सीमा बसेर टीका लगाइदिएको तस्बिरलाई फेसबुकमा राखेका छन् ।

आलोचना गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा पनि छन् । उनले जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई असर पर्ने गरेर राष्ट्रपतिबाट व्यवहार भएको भन्दै आलोचना गरेका छन् । उनले राष्ट्रपतिका सल्लाहकार र सहयोगीहरूप्रति आफ्नो आक्रोश अलिक धेरै पोखेका छन् ।

‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानूनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव । अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादशैंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृति मुताविक भएन । आजीवन हसिया हथौडा अंकित झण्डामुनि क्रियाशील, नेपाली महिला सशक्तिकरण अभियानकी प्रेरणादायी नेतृ र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुनसक्दैन । किनभने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिहरू जननिगरानी अन्तर्गत नै रहेको हेक्का राखिनु मनासिव होला’, नेकपाका केन्द्रीय सदस्य थापाले फेसबुकमा स्टाटस लेखेका छन् ।

यो तस्बर असलीयत हो वा होइन सो विषयमा राष्ट्रिपति कार्यालय शीतल निवासले केही प्रतिक्रिया दिएको छैन । तर, आलोचकहरूले राष्ट्रपति भण्डारीलाई नकारात्मक रुपमा सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।

दशैँको टीका प्रदान गर्ने बेलाको यो तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला राष्ट्रपति कार्यालय मौन छ ।

कतिपयले सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीलाई नयाँ राजाको संज्ञा दिएका छन् । उनीहरूले राजाको शासनका बेला पनि जनतालाई घुँडा टेकाएर कहिल्यै पनि दशैँको टीका नलगाएको लेखेका छन् ।

तत्कालीन नेकपा(एमाले)की उपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । भण्डारीलाई आलोचकहरूले कम्युनिस्ट पार्टीबाट राष्ट्रपतिमा निर्वाचित भएर पनि जनतामाथि यस्तो व्यवहार देखाएको भन्दै आक्रोश पोखेका छन् ।

Published : Monday, 2018 October 22, 8:31 am

2 प्रतिकृया प्राप्त “कम्युनिस्ट राष्ट्रपतिले जनतालाई घुँडा टेकाएको तस्बिर भाइरल”

  • यस्ताे ब्यबस्था त राजा कालमा पनि थिएन अाफु लाइ राजा भन्दा क्रृर र तानासाह बन्ने प्रयास त हाेइन र?

  • प्रथमतः विद्या देवी भंडारी एक दक्षिणपंथी अवसरवादिता को सिकार एमाले की नेतृ हुन, इनी लाई कम्युनिस्ट को नेतृ सम्झनु नै गलत ब्याख्या हो,
    हाम्रो वर्तमान राष्ट्रपति विद्या देवी भंडारी लोकतांत्रिक गणतंत्र द्वारा निर्वाचित संसदीय व्यवस्था ले निर्वाचन गरेका राष्ट्रपति भएको हुदा इनी ले अपनाउने कृयाक्लाप गणतांत्रिक हुनु पर्ने हो,
    राष्ट्र प्रमुख को हैसियत ले वर्तमान परिस्थिति लाई समेट्ने खाल को व्यवहार लाई प्रमुखता दिनु समय को आवश्यकता पनि हो,
    तर निरंकुश तंत्र को नीति लाई निरन्तर्ता दिनु दुख को कुरा हो,
    जस्ले गर्दा उन्मा अझै ब्राह्मणवादी कार्य शैली को अंश कायमै रहेछ भन्ने बुझ्नू अति कथनी नहोला।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया