माओवादीको किल्लामा कांग्रेसको लोकप्रियता बढेपछि आत्तिए कम्युनिस्टहरू

रुकुम । रुकुम जिल्लामा नेपाली कांग्रेसको भातृसंस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद कार्यक्रम रोक्न कम्युनिस्ट सरकारले प्रहरी प्रशासन लगाएर आतंक मच्चाएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका पश्चि रुकुम जिल्लाका सांसद तथा नेकपाका नेता जनार्दन शर्माको ठाडो आदेशमा संघले वाफिकोट गाउँपालिका वडा ६ मगमा आयोजना गरेको भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आतंक मच्चाउँदै कार्यक्रम स्थल नै कब्जा गरेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

लोकतान्त्रिक खेलकुद संघले कात्तिक ३ गतेदेखि आयोजना गरेको कार्यक्रममा शुरुदेखि नै नेकपाका स्थानीय नेता कार्यकर्ताले भाड्ने प्रयास गरेका थिए ।

कार्यक्रममा स्थानीयहरूको उत्साहजनक सहभागिता भएपछि नेकपाका नेता तथा कार्यकर्ताहरू तर्सिएका थिए । भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २३ टीमले सहभागिता जनाएका छन् । ३ गतेदेखि भएको कार्यक्रम ४ गते पनि सञ्चालन भएको थियो ।

४ गते दिउँसो वाफिकोट गाउँपालिका वडा ६ ले प्रहरी लगाएर कार्यक्रम भाड्ने प्रयास गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर स्थानीय प्रशासनले कार्यक्रम भाड्न खोजेको कांग्रेसको आरोप छ ।

स्थानीय सरकारबाट अनुमति नलिएको भन्दै नेकपाका नेताहरूको आदेशमा कांग्रेसको कार्यक्रम रोक्न खोजेको थियो । स्थानीय जनताले प्रशासनको कडा विरोध गरेपछि प्रहरी पछाडि हटेको छ ।

वाफकोट ६ नम्वर वडाका वडाध्यक्ष मनोज अधिकारीले आफूहरूले कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै तर्साउन थालेपछि कांग्रेस कार्यकर्ताहरूले सत्ताको आडमा भएको ज्यादतीको विरोध गरेका थिए ।

लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रमलाई प्रभावित बनाउन शर्मा निकट प्रगतिशील युवा क्लवले वाफिकोट सात नम्वर वडामा समानान्तर कार्यक्रम गरेको थियो ।

क्लवको कार्यक्रममा ६ टिम मात्र सहभागी भएका थिए । कांग्रेस निकट संघको कार्यक्रममा २३ टीम र नेकपा निकटको कार्यक्रममा जम्मा ६ टीम मात्र सहभागी भएपछि आत्तिएका नेकपाका कार्यकर्ताहरूले कार्यक्रम विथोल्न सत्ताको आड लिएको आरोप छ ।

Published : Monday, 2018 October 22, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया