आईजीपीद्वारा वैदाम प्रहरीको कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष र भान्सा घरको उद्घाटन
पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वडा प्रहरी कार्यालय, वैदाम, कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा आईजीपी कुँवरले उद्घाटनपछि नवनिर्मित भवनहरूको अवलोकन गरेका छन् । उनले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसा–पत्र समेत प्रदान गरेका छन् । कार्यक्रममा आईजीपी कुँवरले प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीलाई पनि सम्मान गरेका छन् । तत्कालीन समयमा कार्की कास्की प्रहरीको प्रमुख रहेका बेला भवनहरू बनाउन विशेष भूमिका खेलेका थिए ।
आईजीपी कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भएको बताउँदै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।
नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रित हुनुपर्ने उनले बताए । कुँवरले शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितहरूको सारथी भई समस्या र गुनासोलाई सम्बोधन गर्न निर्देशन दिएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गरेकी छिन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गरेका छन् । प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।
नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ६० लाख ३३ हजार २० रूपियाँको लागतमा ती भवनहरू निर्माण कार्य सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया