नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । मुद्दामा बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि (मैतीदेवी, काठमाडौं) र फर्मका निर्देशक माधवप्रसाद गौतमलाई प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ ।
नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ ।
अख्तियारले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको जनाएको छ ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८१।०८।२० गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
जिल्ला सिरहा, धनगढीमाई नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनगढीमाई नगरपालिकाको आ.व. २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये 17 प्रकारका औषधिहरु जनसवाल पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरे/गराएको र 5 प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधि खरिद गरेको, सार्वजनिक खरिद नियमावली, 2064 को नियम ८५ को उपनियम (१क) बमोजिम Curex Pharmaceuticals Pvt. Ltd. ले आ.व. २०७८/०७९ को लागि मिति 2078।04।10 गते राष्ट्रियस्तरको दैनिक जनसवाल पत्रिकामा प्रकाशित 237 प्रकारका औषधिहरुको मूल्य-सूची (दररेट) मा नबढ्ने गरी उक्त कम्पनीको आधिकारिक बिक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि.सँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको रकम रु.३,४६,३२०।-र ५ प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधिहरु रु.१,१४,४९०।-समेत गरी जम्मा रकम रु.४,६०,८१0।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) नेपाल सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बद्नियत राखी अङ्कित मूल्य भन्दा अस्वभाविक बढी मूल्यमा औषधि खरिद गरी/गराई झुट्टा विवरणको बिल भरपाईको आधारमा जम्मा रु.४,६०,८१0।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) रकम भुक्तानी गरे/गराएको पुष्टि भएकोबाट देहायका प्रतिवादी उपरर देहाय बमोजिम कसूर तथा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर, पद र कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले | रु.४,६०,८१0।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ङ) र (ञ) बमोजिम कसुरमा सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
धनगढीमाई नगरपालिकाको लेखा अधिकृत पदमा कार्यरत पुरुषोत्तम कुमार प्रसाद | रु.४,६०,८१0।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ङ) र (ञ) बमोजिम कसुर गरेकोमा सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
धनगढीमाई नगरपालिकाका तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी | रु.४,६०,८१0।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ङ) र (ञ) बमोजिम कसुरमा सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
धनगढीमाई नगरपालिकाका तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत यादव | रु.४,६०,८१0।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ङ) र (ञ) बमोजिम कसुरमा सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि. मैतिदेवी, काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधव प्रसाद गौतम | रु.४,६०,८१0।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ङ) र (ञ) बमोजिमको कसुरको नगद तथा लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 बमोजिम सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। |
प्रवक्ता
नरहरि घिमिरे
फेसबुकबाट तपाईको प्रतिक्रिया