उत्तराधिकारी भन्ने बेकारको कुरा हो, महाधिवेशनमा हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधान संशोधन दलीय सहमतिमा गरिने बताए । उनले संविधान संशोधनका लागि दुईतिहाई बहुमत आवश्यक पर्ने भएकोले सहमतिबिना असम्भव रहेको बताए ।

देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनबाट नेतृत्व चयन हुने बताएका छन् । नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले भेलाबारे जानकारी नभएको जवाफ दिएका छन् ।

सभापति देउवाले वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नरहेको बताए । उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै मुलुक समृद्धितर्फ अगाडि बढेको बताएका छन् ।

सभापति देउवाले बिआरआईमा नेपालले ऋण नलिएको बताए । उनले भने, ‘बिआरआईमा ऋण लिएकै छैन ।’

सभापति देउवाले कांग्रेसको उत्तराधिकारी भन्ने बेकारको कुरा भएको बताएका छन् । उनले भने, ‘उत्तराधिकारी भन्ने बेकारको कुरा हो, घोषणा मैले गर्ने हो र ? महाधिवेशनमा हुन्छ ।’

Published : Friday, 2024 December 6, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया