पार्टी एकता सबैभन्दा महत्वपूर्ण कुरा हो, हामी एक नभइकन चुनाव जित्दैनौँ : सभापति देउवा

धरान । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पार्टीमा आफूलाई चित्त नबुझेको कुरा राख्न पाइने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले धरानमा आयोजित कार्यक्रममा देउवाले भने, ‘हाम्रो पार्टीमा बोल्न पाइन्छ । विरोध गर्न पाइन्छ । हाम्रो पार्टीमा लोकतान्त्रिक रुपमा सबै कार्य गर्न पाइन्छ । कुनै रोकतोक छैन ।’

‘तपाईहरूले पनि गरिरहनु भएको छ । गर्दा झन् राम्रो हुन्छ । पार्टीमा आफ्नो कुरा राख्न पाइन्छ । यस्ता कुरा राखेर गयौँ भने हाम्रो पार्टी जीवन्त बन्छ । प्रजातान्त्रिक पद्धतिबाट चित्त नबुझेको कुराहरू बोल्न पाइन्छ’, सभापति देउवाले भने ।

उनले भने, ‘पार्टी एकता सबैभन्दा महत्वपूर्ण कुरा हो । पार्टी एक नभइकन हामी चुनाव जित्दैनौँ । अरु बेला भिड्नु होला । माथि जानु होला । चुनावको बेला टिकट एउटैले पाउँछ केर । सबैलाई दिन सकिदैन । टिकट नपाएकाहरूले सहयोग गर्‍यो भने दोस्रो पटक उहाँले पाउने सम्भावना बढी हुन्छ ।’

सभापति देउवाले भने, ‘पार्टीका सबै साथीभाइहरू एक भएर अगाडि बढेको खण्डमा धरानमा हामी सधैँ जित्ने छौँ । चुनावमा मात्रै होइन । धरान पूर्वको महत्वपूर्ण द्वार पनि हो । धरानलाई महत्व र रणनीतिक रुपमा लिएर कांग्रेसका उम्मेदवारलाई चुनावका बेला मिलेर जिताउन लाग्नुपर्छ ।’

Published : Friday, 2024 December 6, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया