गिरिजाबाबुले सबैका अगाडि ज्ञानेन्द्रको यसरी लिएका थिए सातो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अमिक शेरचनले नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला राष्ट्रवादी नेता रहेको बताएका छन् ।

अनलाइन खबरसँगको अन्तर्वार्तामा कम्युनिस्ट नेता शेरचनले गिरिजाप्रसाद कोइरालालाई आफूले राष्ट्रवादी नेताका रुपमा चिनेको बताए । ०६२–६३ को जनआन्दोलनका बेला भएको लामो सहकार्यपछि गिरिजाप्रसाद कोइरालालाई आफूले चिनेको बताएका छन् । गिरिजाप्रसाद कोइरालालाई आफूले भाषणका बेला भारतीय दलाल भन्ने गरेको स्मरण गरेका नेता शेरचनले भनेका छन्, ‘गिरिजाप्रसाद कोइराला भारत विरोधी हुनुहुन्थ्यो । उहाँलाई कन्भिन्स गर्न गाह्रो हुन्थ्यो । कन्भिन्स हुनुभयो भने काम गर्न सजिलो थियो ।’

राजा ज्ञानेन्द्र शाहलाई सबैको अगाडि नारायणहिटी राजदरबारमा थर्काएको पनि कम्युनिस्ट नेता शेरचनले बताएका छन् । ‘लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएपछि प्रधानमन्त्री पद खाली थियो । प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न दरबारमा बोलाइयो’, उनले भनेका छन्, ‘मैले एक्लाएक्लै हो भने आउँदिनँ, सामूहिक हो भने आउँछु भनें । उताबाट सामूहिक नै हो भन्ने जवाफ आयो ।’

‘गिरिजाबाबुकोमा जम्मा भएर दरबारमा गयौं । शेरबहादुर देउवा, पशुपति शमशेर राणा, बद्रीप्रसाद मण्डललाई पनि बोलाइएको रहेछ । राजीनामा दिएर बसेका प्रधानमन्त्री भएकाले चन्द त आउने नै भए’, राजदरबारमा राजा ज्ञानेन्द्र शाहसँगको भेटबारे स्मरण गर्दै नेता शेरचनले भनेका छन्, ‘हामी आन्दोलनरत दललाई बोलाएको होला भनेर गएका थियौं । त्यहाँको उपस्थिति देखेपछि हामीलाई फसाएछन्, अब हिंड्नुपर्छ भन्ने मानसिकता बनाइसकेका थियौं । ठ्याक्कै त्यहीबेला ज्ञानेन्द्र शाह र छोरा पारस शाहसँगै बाहिर आए । हिँडिहाल्न मिलेन ।’
‘ज्ञानेन्द्र शाहले गिरिजाबाबुलाई यता बस्नुस् भनेर आफू नजिक बोलाउनुभयो । गिरिजाबाबुले हैन, ठीकै छ भन्नुभयो । हामीले पनि जानुस् न तपाईका लागि राखेको सिट रहेछ भन्यौं । प्रधानमन्त्री भइसकेका व्यक्तिको सम्मानका लागि राखेको होला भन्यौं । उहाँ त्यो सिटमा जानुभयो’, उनले भनेका छन्, ‘गिरिजाबाबुबाट शुरु गरौं भनेर ज्ञानेन्द्रले के भन्न भ्याएका थिए । गिरिजाबाबु यसरी जंगिएर बोल्नुभयो कि बोली पनि बुझिएको थिएन । औंलाले राजाको आँखा नै घोच्ला जस्तो गरेर जोड जोडले चिच्याउनुभयो ।’

‘मैले नै एउटा कुरो राख्छु भनेर यो बैठकको कम्पोजिसनका बारेमा हामीलाई किन जानकारी दिइएन भनेर सोधें’, शेरचनले भनेका छन्, ‘देउवा, पशुपतिजी आउनुहुन्छ भनेर किन जानकारी दिइएन ? पहिला यसमा छलफल गरौं भनें ।’

शेरचनले त्यस बेला ज्ञानेन्द्र शाहसँग भएको भेट स्मरण गर्दै भने, ‘त्यसपछि ज्ञानेन्द्र शाहले पशुपति (पशुपति महर्जन), ए पशुपति यो के भएको हो भनेर सोधे । पशुपति महर्जनले सरकारबाट सामूहिक दर्शन भेटको हुकुम भएको छ आइदिनुप-यो भनेको हुँ भने ।’

त्यहाँको उपस्थिति देखेपछि हामीलाई फसाएछन्, अब हिंड्नुपर्छ भन्ने मानसिकता बनाइसकेका थियौं । ठ्याक्कै त्यहीबेला ज्ञानेन्द्र शाह र छोरा पारस शाहसँगै बाहिर आए । हिँडिहाल्न मिलेन ।

‘हामीले बुझेको सामूहिक आन्दोलनरत दलको सामूहिक भन्ने थियो । किनभने त्यतिबेला आन्दोलन गरिरहेका दललाई पनि अलग अलग बोलाउने पनि गरेका थिए । फेरि पशुपति के भाको भनेर सोध्न थाले’, उनले भनेका छन् ।

‘गिरिजाबाबु त पहिले नै चूर भएर बस्नु भएको थियो । किनभने पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि देउवासँग पहिलोपटक भेट भएको थियो । देउवाजी संसद् पनि विघटन गरेर आउनुभएको थियो’, शेरचनले भनेका छन्, ‘ज्ञानेन्द्रले चन्दको राजीनापछि प्रधानमन्त्री कसलाई बनाउने भनेर छलफल गर्न बोलाएको भने । अरु कोही बोलिरहेका थिएनन् । मैले नै सरकारबाटै शुरु गरौं न भनें ।’

‘कुरा यही नै हो, गिरिजाबाबुबाट शुरु गरौं भनेर ज्ञानेन्द्रले के भन्न भ्याएका थिए । गिरिजाबाबु यसरी जंगिएर बोल्नुभयो कि बोली पनि बुझिएको थिएन । औंलाले राजाको आँखा नै घोच्ला जस्तो गरेर जोड जोडले चिच्याउनुभयो’, गिरिजाप्रसाद कोइरालाले त्यस बेला ज्ञानेन्द्र शाहलाई थर्काएको स्मरण गर्दै शेरचनले भनेका छन्, ‘ठाडो हेपे गिरिजाबाबुले राजालाई । के कुरा गर्ने ? यस्तो नि मिटिङ हो ? केही छैन मसित । गिरिजाबाबुले भन्नु भएपछि ‘पिन ड्रप साइलेन्स’ भयो । पछि थाहा भयो, गिरिजाबाबु राजासँग जंगिएको त्यो नै पहिलोपटक रहेछ ।’

बैठकको मौनता भंग गर्ने काम पनि आफैले नै गरेको उनले बताए । ‘सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा रहेछ । फ्रेस म्यान्डेट कसैको छैन । पछिल्लो जनादेश अनुसार कांग्रेस ठूलो पार्टी हो । तर, देउवाजीले विभाजन गरेकाले अब कांग्रेस ठूलो पार्टी रहेन’, शेरचनले भनेका छन् ।

‘दोस्रो ठूलो पार्टी एमाले हो । एमाले फुटेको पनि छैन । बरु एमालेमा माले मिसिएको छ । त्यसैले एमालेले सरकारको नेतृत्व गर्नुपर्छ । एमालेमा पनि माधव नेपालजी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने प्रस्ताव राखे । दायाँ(बायाँ कुरा नगरौं भने’, उनले भनेका छन्, ‘म बोलेपछि शेरबहादुरजी बोल्नुभयो । मेरो नेतृत्वको सरकार पुनस्थापित होस् भन्नुभयो । वास्तवमा देउवाजीलाई फेरि ल्याउने डिजाइनअन्तर्गतकै बैठक थियो त्यो । शान्ति स्थापना गर्ने काम नै मुलुकको सबैभन्दा ठूलो काम हो । हाम्रो पार्टीका मन्त्रीले वार्ता गरेको थियो । त्यो काम पुरा भएको छैन । त्यसैले म सक्षम छु । म प्रधानमन्त्री बन्न पाउँ भनेर पशुपति शमशेरजीले आफ्नो दाबी प्रस्तुत गर्नुभयो ।’

‘त्यतिखेरसम्म बोल्ने नेताहरू बसेरै कुरा गरिरहनुभएको थियो । बद्रीमण्डल जुरुक्क उठ्नुभयो । धनुष्टंकार भएर प्रभु दण्डवत चढाउँछु भन्नुभयो । शाहवंशको उदयपछि नै मधेसका जनताले यो अवसर पाएको छैन प्रभु, त्यसैले सेवकले प्रधानमन्त्री पाउनुपर्छ भन्न थाले’, शेरचनले भनेका छन् ।

‘के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो दृश्य थियो त्यहाँको । छलफल टुंगिएन । ज्ञानेन्द्रले फेरि बसेर छलफल गरौं भने । त्यसपछि नारायणमान बिजुक्छेजी बोल्नुभयो । उहाँले दरबारले सबैलाई सम्पर्क नगर्ने, माधव नेपालजीलाई मात्रै सम्पर्क गर्ने भन्नुभयो’, शेरचनले भनेका छन्, ‘गिरिजाबाबुले पनि अमिकजीको प्रस्तावमा मेरो पूर्ण समर्थन छ भन्नुभएको थियो । नारायणमानजीले पनि त्यसमा मेरो पनि समर्थन छ भन्नुभयो । त्यो शुक्रबारको दिन थियो । आइतबारसम्म पनि माधव नेपालजीलाई दरबारबाट खबर आएन छ ।’

Published : Monday, 2018 October 22, 8:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया