रम्भामा कांग्रेस नेता, कार्यकर्ताहरूको भेला, मिलेर जाँदा कांग्रेस पराजित नहुने निष्कर्ष

रम्भा । नेपाली कांग्रेस पाल्पाका स्थानीय नेताहरूले पार्टीको संगठन बलियो बनाउन आन्तरिक रुपमा नेता, कार्यकर्ताबीच सहमति र सहकार्य अनिर्वाय रहेको बताएका छन् ।

शनिबार पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ हुँगीमा भेला भएका स्थानीय नेता कार्यकर्ताहरूले कांग्रेसलाई संगठन निर्माणमा चुनौती रहेको भन्दै जिल्लाका नेताहरू मिलेर जान आवश्यक रहेको सुझाव दिएका हुन् । कांग्रेस मिलेर जाने हो भने पाल्पामा कांग्रेसको जित सुनिश्चित रहेको नेताहरूले बताएको कांग्रेसका नेता एवम् महासमिति सदस्य विमल ढकालले बताए ।

नेता ढकालले भने, ‘निकट भविष्यमा निर्वाचनहरू आउँदैछन् । चुनाव आउनुभन्दा अगाडि पाल्पामा कांग्रेसको संगठन बलियो बनाउनुपर्छ । पाल्पा कांग्रेसको जिल्ला नेतृत्व तथा नेता, कार्यकर्ताहरूबीच सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने सुझाव आएका छन् ।’

विगतमा जिल्ला नेतृत्वले सबै नेताहरूलाई समेटेर अगाडि बढ्न नसक्दा जिल्ला समन्वय समितिका साथै विभिन्न स्थानमा कांग्रेसका उम्मेदवारहरू जित्ने अवस्था रहँदा पनि पराजित हुनु परेको समीक्षा भएको नेता ढकालले बताए । विगतको गल्ती दोहोरिन नदिन पाल्पा कांग्रेसको जिल्ला नेतृत्वले सबैलाई समेटेर अगाडि बढ्न भेलामा सहभागी नेताहरूले सुझाव दिएका छन् ।

भेलामा पूर्वसांसद हरि नेपाल, महासमिति सदस्य विमल ढकाल, महासमिति सदस्य एवम् सभापतिका प्रत्यासी कृष्ण बस्याल, प्रध्यापक संघको महासचिव केशवराज शर्मा, महासमिति सदस्य देवराज ढकाल, नेता बमबहादुर थापा, नेता अर्जुन रेग्मी, पूर्व क्षेत्रीय सभापति तथा गाउँपालिकाका पूर्वअध्यक्ष रामबहादुर कार्की, नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन विष्ट, नेता दीपक घिमिरे लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पाल्पा जिल्लामा प्रतिनिधिसभाका दुई वटा क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । कांग्रेस पाल्पामा कमजोर छैन । तर, पार्टीभित्र जिल्ला नेतृत्वले सबैलाई समेटेर लैजान नसक्दा निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू पराजित हुने गरेका छन् ।

Published : Sunday, 2024 December 8, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया