प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो होइन : सभापति खवितडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो नभएको बताएका छन् ।
सोमबार ललितपुरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा खतिवडाले मुख्य सचिवले कर्मचारीहरूलाई निर्देशन दिँदा पालना नहुने गरेको बताए ।
उनले सरकार र मुख्य सचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हावी भएको बताउँदै अख्तियारसँग डण्डा, कानून र हत्कडी लगाउने क्षमता भएपनि सही रुपमा प्रयोग हुनुपर्ने बताए ।
भ्रष्टाचारका विषयमा बेनामी उजुरीहरू दिन पाउने र नपाउने विषयमा राज्य व्यवस्था था सुशासन समितिमा छलफल भइरहेको सभापति खतिवडाले बताए । समितिले बेनामीमा भ्रष्टचारको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था राख्ने गरी कानून बनाउन लागेको उनले बताए ।
सभापति खतिवडाले बजेट छुट्याउँदैमा मानिसहरू जेल जानुपरे विकास निर्माणका कामहरू अगाडि बढ्न नसक्ने बताएका छन् । उनले अदालतमा मुद्दा दर्ता हुने बित्तिकै निलम्वन हुने पद्धतिले भविष्यमा राम्रो नगर्ने बताएका छन् ।
सभापति खतिवडाले पछिल्लो समय नीतिगत भ्रष्टाचारका विषयहरू उठेको भन्दै सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको बताए ।
उनले समितिलाई नीतिगत व्यवस्था कस्तो बनाउने भन्ने दायित्व रहेको भन्दै समितिले सो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया