विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

मंगलबार प्राज्ञ समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत रुपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु ।’

‘विश्वविद्यालयकोश्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ’, नेता महरले भने । शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रुपमा शिक्षा नीति बहस अभियान संचालन गरेको महरले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरले बताए ।

त्रिभुवन विश्वविद्यालय लगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, ‘विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोरेसीलाई हात्तीकोदेखाउने दाँत मात्र नबनाइ यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ ।’

कांग्रेस नेता महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विश्वविद्यालयको सम्पत्तिको संरक्षण गर्नुपर्ने बताए ।

Published : Tuesday, 2024 December 10, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया