लैंगिक हिंसाविरूद्ध हुने अपराधमा शून्य सहनशीलतामा अनुसन्धान हुनुपर्छ : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंगिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने बताएका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै कुँवरले रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ को सार्वजनिकीकरण गरेका छन् । उनले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीबाट भएका प्रयासहरूबारे तयार पारिएको वृत्तचित्र समेत शुभारम्भ गरेका छन् ।

कुँवरले अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै लैंगिक हिंसाजन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको बताए ।

लैंगिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुनःस्थापनका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि इलाकास्तरसम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आएको उनले बताए ।

कुँवरले प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उल्लेख गर्दै यस्ता किसिमका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि नेपाल प्रहरीका प्रयासहरू केन्द्रित रहेको बताए ।

लैंगिक हिंसाको न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको आईजीपी कुँवरले बताएका छन् ।

उनले लैंगिक हिंसा विरूद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धान लगायतका सम्पूर्ण प्रकृयाहरू पूरा गर्ने उद्देश्यले लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको बताएका छन् ।

नीतिबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिकविरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गर्न र सेवा प्रवाहमा उच्च मनोबलका साथ परिचालित हुन प्रेरित गर्ने विश्वास लिएको उनले बताए ।

आगामी दिनमा लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गृहमन्त्रालयका उपसचिव सुरेशराज जोशी, राष्ट्रिय मानवअधिकार आयोगका उपसचिव सम्झना शर्मा, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव अन्जु ढुंगाना र स्वास्थ्य सेवा विभाग, नर्सिङ सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ कम्युनिटि नर्सिङ प्रशासन अधिकृत कविता अर्यालले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव उपरीक्षक रूपा थापाले लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण गरेकी छिन् ।

Published : Tuesday, 2024 December 10, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया