परराष्ट्रमन्त्री डा.राणा र लक्जमबर्गका उपप्रधान एवं विदेशमन्त्री बेटेलबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच भेटवार्ता भएको छ ।
मंगलबार लक्जमबर्ग सिटीस्थित बेटेलको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल र लक्जमबर्गबीचको सम्बन्धका विविध पक्षमा छलफल भएको छ । उनीहरूका बीच आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
डा.राणा र बेटेलबीच नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान भएको छ । वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको बृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको छ ।
नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपील गरिएको पनि परराष्ट्रमन्त्री डा.राणाले सो भेटका क्रममा जानकारी गराएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी छिन् ।
नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरुको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा.राणाले नेपाल आन्तरिक रुपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराएकी छिन् । उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेकी छिन् ।
नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया