भारतमा नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई भव्य स्वागत

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतमा भव्य स्वागत भएको छ ।
बुधबार नयाँदिल्लीमा सिग्देल र भारतीय समकक्षी उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट भएको छ । सिग्देल ४ दिनको भ्रमणका लागि भारतमा छन् ।

प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स अनिल चौहान, रक्षा सचिव राकेशकुमार सिंह र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति सिग्देलले भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण समेत गरेका छन् ।

प्रधानसेनापति सिग्देल मंगलबार भारत भ्रमणमा गएका हुन् । प्रधानसेनापति सिग्देलले मंसिर २७ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गर्ने कार्यक्रम छ ।

भारतीय सैनिक शिक्षालयमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सिग्देल सहभागी हुने जङ्गी अड्डाले जनाएको छ ।

प्रधानसेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीले मंसिर ६ गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्राप्त गरेका थिए ।

नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

Published : Wednesday, 2024 December 11, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया