पीएल सिंहसँगको संस्मरण

पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता ‘आनन्द’

लामो समयको अन्तरालमा काठमाडौं गएको थिएँ । अर्को दिन बिहानै पीएल दाइलाई भेटन चाक्सीबारी पुगेको थिएँ । तुरून्तै भेटन पाएँ र सोधेँ तपाईलाई कस्तो छ ?

केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कदै गरेको लाग्यो । स्वर पुरानै थियो । ‘फिल मच बेटर । तर, अत्यधिक थकाईको अनुभव र रोगले जन्माएको खानाप्रतिको बेस्वादले दिक्दार लागेको छ’, पीएल दाइले मलाई बडो अपनत्वका साथ आफूसंगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ ।

त्यस दिन नरदेवीबाट पैदल हिडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौं । पीएल दाइको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नु हुन्थ्यो । फेरि गफिदै हामी बालाजु, सोह्रखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, ईन्द्रचोक हुँदै न्यूरोड गेटसम्म आई पुगेका थियौं । हिडाइँ लामो भएको थियो । बिक्रम संवत् २०४०–४१ सालतिरको तेस हिडाइँमा पीएल दाइले बडो बिस्तारका साथ गणेशमानजीको बिचार निर्माणको पद्दतिका बारेमा केही कुरा बताउनु भएको थियो । र, वीपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानको लागि अपनाउने गरेको त्योभन्दा पनि कलिलो शैलीबारे हाँस्दै भन्नु भा’थ्यो पीएल दाइले त्यो के ह्याण्डल बिथ केयर भन्छन् नि, हो ! वीपीको त्यही शैली अहिले चाहिन्छ गणेशमान जीलाई डिल गर्न बुझ्यौ ?

बिक्रम संवत् २०४२ सालमा नेपाली कांग्रेसले पंचायती व्यवस्थाको बिरूद्ध शुरू गर्न लागेको सत्याग्रहभन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो कांग्रेसको नेतृत्वमा । गणेशमानजी र गिरिजाबाबुबीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठूलो मतभिन्नता झाँगिइँदै गएको देखिन्थ्यो । राजाले केही दाव खेलेका थिए । कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नु भएको थियो । गणेशमान जीलाई यो मन परेको थिएन । यसले गर्दा सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो । तर, गिरिजाबाबुको बिचार भिन्नै थियो । उहाँलाई लागेको थियो, पंचायतबिरूद्धको लामो संघर्षले साथीहरूमा थकाई पनि छ । केही साथीहरू पंचायततिर लागे पनि । राजासंगको यस्तो भेटले नेपाली कांग्रेसको ‘रिकगनाईजेशन’ बढने छ । शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पञ्छाउन नसक्ने एकपक्ष रहेछौं भन्ने धारणा स्थापित पनि हुन्छ । यसरी सोँच्नु हुन्थ्यो गिरिजाबाबु । अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नु भएको थियो । विद्युत् महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै व्यहोराको निवेदनमा आमजनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजाबाबुको । तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन । पञ्चहरू तथा कम्युनिष्टहरूले यसलाई बिन्तीपत्रको राजनीति भनेर प्रचार गरिरहेको थिए । आन्दोलनको लागि कांग्रेसको बढ्दै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमानजीको इगोले हम्मेसी स्वीकार्ने विषय थिएन । यसलाई पञ्च र कम्युनिष्टहरूले खुब हौस्याएका थिए । पूरै कांग्रेस वृत यसबाट चिन्तित थियो । गणेशमानजी र गिरिजाबाबुका बीच बिचारको बुझबुझारथ हुनुपर्ने सबैको चासो थियो । पार्टीभित्र पीएल दाई र शैलजा दिदी यी दुई जना मात्र थिए जो दुबै नेताका बीच सहज सम्वादलाई बढाउने सामर्थ्य राख्दथ्यो । म यहीबारेको केही कुरा गर्न त्यस बेला पीएल दाइलाई भेटन गएको थिए ।

हेर ! जेपी उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन र ! यसैले त मैले ह्याण्डल विथ केयर भनेको हुँ । पीएल दाइले नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनको कुरो सुनाउनु भयो । वीरगञ्ज अधिवेशनमा पार्टीका धेरै ठूला नेताहरूको सभापतिमा सुवर्णशम्शेर जबरालाई समर्थन थियो । गणेशमानजीले सुवर्णशम्शेर जबरालाई सभापति बनाउन चाहनु भएको थिएन । गणेशमानजीले सुवर्णजीको बिरूद्ध कुनै बलियो उम्मेदवार पाउनु भएको थिएन । वीपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नु भएको थियो । यो पनि गणेशमानजीलाई मन परेको थिएन । वीपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनु भयो भने उहाँलाई ठूलो धक्का लाग्नेछ । पैसा र धनका धनीको कांग्रेस भयो । मेरो त्यागको कुनै मान्यता भएन भन्ने कुराले गणेशमानजीलाई बडो दुःखी तुल्याउनेछ । यो ठूलो चिन्ता थियो वीपीलाई । अनि गणेशमान जीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर वीपीले आफ्ना विश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अह्राउनु भएको थियो । शायद बिक्रम संवत् २०१२ सालतिरको कुरो हो यो । पीएल दाइले पाउँपैदल हिँडिरहेको मलाई सोध्नु भएको थियो– ल भन जेपी, आज कांग्रेसमा को छ र यसरी गणेशमान जीलाई ह्याण्डल गर्ने ?

कांग्रेसभित्रको त्यस समस्याको त्यस बेला समाधान भयो । सबैले सत्याग्रहलाई बढाए । राजासमक्ष निवेदन पनि दिइयो । राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले लाखौं जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन् । राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो ।

अन्ततः गणेशमानजी कांग्रेस छोड्नु भयो । उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाइँदा र त्यस महायात्रमा हिँड्दा मलाई लागेको थियो गणेशमानजीको मृत्युलाई त किमार्थ पञ्छाउन सकिन्न्थ्यो । तर, यदि त्यस दिन पीएल दाइले भन्नु भएअनुसार वीपीले गणेशमानजीलाई सम्हाल्ने गरे जस्तै त्यस बेलाका नेताहरूले सम्हालिदिएको भए पशुपतिसम्मको गणेशमानजीको यात्रा अझ महान हुने थियो ।

त्यस दिन रुग्ण पीएल दाइसँगै उहाँको सानिध्य उहाँ कै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेए आयो ।

पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन यसबीच पीएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । अनि मैले गहिएर उहाँलाई हेरे । आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पीएल दाइ बातबातमा मेरो नाम लिनु पर्दा जेपी आनन्द बोल्नु हुन्थ्यो । यो नयाँ कुरा थिएन । तर, यसले मेरो उहाँसंगको लामो सम्बन्धको झल्को दिन्थ्यो । अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन् ।

धेरै बेर कुरा भयो । मेरो गाउँको घर पनि पुगेको सम्झना आयो उहाँलाई । एकसरो धेरै कुराहरू सुनाउनु भयो । सबैभन्दा बढी याद आइरहेको छ, पीएल दाइले भनेको–जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु !

शायद उहाँले यो कुरो मभित्रको मलाई भन्नु भएको थियो । लगभग वर्ष दिन पहिले, शायद असोज ९, २०८० को कुरो हो यो ।

म फेरि पनि लेख्नेछु पीएल दाइ प्रेमलाल सिंहको बारेमा सोँचेको थिएँ । आज उहाँको देहावसानको समाचार सुने । शान्तिका साथ त्यहाँ रहनु हुनेछ पीएल दाई ।

Published : Monday, 2024 December 16, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया