पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं पूर्वमेयर सिंहप्रति शोक मनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री प्रेमलाल सिंह (पीएल)को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा सोमबार बिहान १ बजे भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको जनाएको छ ।

स्व.सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर कार्य गरेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा संलग्न रहँदा सिंहले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गरेको कांग्रेसले जनाएको छ ।

प्रजातन्त्र पुनर्स्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सिंह काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए । स्व.सिंहकै पहलमा विक्रम संवत् २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । विक्रम संवत् २०५६ मा सिंह नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएका थिए ।

स्व.सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

सिंहको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएको छ । दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले गहिरो समवेदना प्रकट गरेको छ ।

स्व.सिंहप्रति सम्मान प्रकट गर्दै कांग्रेसले २०८१ पौष १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२०८१ पौष २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसले जनाएको छ ।

स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ ।

Published : Monday, 2024 December 16, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया