सिद्धान्तलाई बिर्सेर हिँड्यौँ भने कांग्रेस धुलोपिठो हुन्छ : नेता चापागाईं

भोजपुर । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरुण दलका पूर्वउपाध्यक्ष उत्तम चापागाईंले सिद्धान्तलाई भुलेर हिँड्ने हो भने कांग्रेस समाप्त हुने बताएका छन् ।

भोजपुरमा नेपाल तरुण दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई भेलालाई सम्बोधन गर्दै चापागाईंले भने, ‘सिद्धान्तलाई बिर्सेर हिँड्यौँ भने यो कांग्रेस धुलोपिठो हुन्छ ।’

उनले भने, ‘तरुणहरूको काँधमा जिम्मेवारी छ । सबैलाई आफूले मात्रै गरेको कुरा राम्रो लाग्न थाल्यो । यस्तो परम्परा रह्यो भने उचित हुँदैन ।’

नेता चापागाईंले सबैका कुरा सुन्नुपर्ने भन्दै कार्यक्रममा बोलर हिँड्ने नहुने बताएका छन् । उनले भने, ‘कांग्रेसमा आफ्नो कुरा गर्न पाए पुग्यो । अरुको कुरा सुन्ने पद्दति नै छैन ।’

कांग्रेसभित्र तरुणहरूको योगदान रहेको उनले बताए । मुलुकभित्रको बेथिति र आफ्नै पार्टीका नेतालाई सचेत गराउन तरुण दलले लडेको चापागाईंले बताए ।

नेता चापागाईंले भने, ‘हामी लामो कुरा गर्न दुई दिनको कार्यक्रम राखेका हौँ । यहाँ कतिलाई टाउको दुखिसक्यो । आफूलाई सच्याउनुपर्छ ।’

तरुण दल भनेको अनुशासन रहेको संगठन रहेको भन्दै नेता चापागाईंले अध्यक्षको अनुमति लिएर कार्य गर्नुपर्ने बताए । उनले तरुण दलमा अनुशासन तोड्दा विगतमा कारबाही भएको स्मरण गरेका छन् ।

Published : Tuesday, 2024 December 17, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया