रविका समर्थकद्वारा तस्बिर सार्वजनिक, गृहमन्त्रीद्वारा कारबाहीको निर्देशन
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको हिरासतको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सहकारी ठगका अभियुक्त सभापति लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कारवाही गर्ने कास्की प्रहरीले जनाएको छ ।
मोबाइल, क्यामेरासमेत लैजान निषेध गरिएको प्रहरी कार्यालयभित्र लामिछाने सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछानेको तस्बिरबारे प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका व्यक्तिको तस्बिर सार्वजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले कानूनले बर्जित र निषेधित क्षेत्रमा गैरकानूनी कार्य गर्नेलाई कानून बमोजिम कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गरेर हिरासतमा रहेका सहकारी ठगका अभियुक्त लामिछानेको तस्बिर डा.निकोलस भुसालको फेसबुक पेजबाट पोस्ट भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले हिरासतमा रहेका व्यक्तिको अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई कारवाही हुने बताएका छन् ।
उनले भने, ‘अनुसन्धानलाई प्रभाविता बनाउने गरी व्यक्तिगत तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्छ ।’
‘केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रहरीले भनेको छ ।
हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा.भुसाल रास्वपाका सभापति लामिछानेका समर्थक हुन् । लामिछानेको हिरासतको तस्बिर आफ्नै समर्थकले सार्वजनिक गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया