दुर्गम र टाढाका जनतालाई छिटो सेवाको माग राखेर कांग्रेस नेता एवं अध्यक्ष थापाद्वारा तोडफोड
तम्घास । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले टाढा र दुर्गमका जनतालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिनुपर्ने माग गरेर जिल्ला प्रशासन कार्यालय गुल्मीमा तोडफोड गरिदिएका छन् ।
कालीगण्डकी गाउँपालिका निकै दुर्गममा पर्छ । जिल्ला प्रशासनले राहदानी लगायतको सेवा छिटो दिँदा घरमा पुग्न सहज हुनेभन्दै अध्यक्ष थापाले माग गर्दै आएका थिए । मागको सुनुवाई नभएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीको स्क्यानर फुटाइदिएका छन् ।
राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । अध्यक्ष थापाले कालीगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको गौतमले स्वीकार गरेका छन् ।
स्क्यानर मेसिन फुटाएका अध्यक्ष थापालाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमतिपछि कुरा मिलेको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कमचारीहरूले सेवाग्राहीलाई छिटो छरितो तरिकाले सहज रुपमा सेवा दिनुपर्नेमा आलटाल गर्दै आएको गुनासोहरू छ । तैपनि कर्मचारीहरूले आफ्नो व्यवहारमा सुधार ल्याएका छैनन् ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा थापाको दोस्रो कार्यकाल हो । नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष थापा गाउँपालिकाका जनताको सेवाका लागि भिड्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया